बढाइएको कर फिर्ता लिन सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले देशलाई नै सकारात्मक सन्देश दिने विषयमा संसद्मा एक अर्कामा आरोप प्रत्यारोप नगरी संयमता अपनाउन सांसदहरूलाई आग्रह गर्नुभयो ।

उहाँले जोखिमपूर्ण अवस्थामा बैठक सञ्चालन भइरहेको र संविधान संशोधन लगायतका विषय मार्फत सकारात्मक सन्देश दिने दिशातर्फ देश गइरहेको अवस्थामा सीमाको विषयमा एक अर्कालाई आरोप प्रत्यारोप नगरी संयमता पूर्वक निष्कर्षमा पुग्ने तर्फ सहयोग गर्न सांसदहरूलाई आग्रह गर्नुभयो ।

उहाँले बैठकमा उठेका विवादित विषयमा यथोचित छानबिन गर्ने जानकारी समेत गराउनुभयो ।

बैठकमा समय माग गरी सांसद चन्दा चौधरीले संसद्मा एक अर्काले बोलेको भाषा तथा सीमा समस्यालाई वार्ता र छलफलमार्फत समाधान गर्न भनेको विषयलाई गलत रूपमा व्याख्या गर्न नहुने भन्दै उक्त भाषण संसद्को रेकर्डबाट हटाउन माग गर्नुभयो ।

यस्तै विशेष समय माग गरी बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले विद्युतीय सवारी आयातमा बढाइएको कर फिर्ता लिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले विद्युतीय सवारी आयातमा करिब ११३ प्रतिशतले कर बढाउनु जनताको भावना र वातावरण संरक्षणका हिसाबले प्रतिगमन कारी कदम भएको भन्दै यसलाई फिर्ता लिन माग गर्नुभयो ।

उहाँले विद्युतीय सवारीमा कर बढाएर आयात निषेध गर्दा पेट्रोलियम पदार्थमा अरबौँ रकम बाहिरिने भन्दै आफ्नै देशमा उत्पादन हुने विद्युतीय गाडीको आयात र सञ्चालनलाई सहज बनाउन माग समेत गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन २०७५÷०७६ पेस गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *