पहिरोका कारण छ घरपरिवार विस्थापित

गुल्मी । अविरल वर्षाका कारण पहिरो खस्दा गुल्मीमा एक घर पुरिनुका साथै अन्य पाँचवटा घरमा क्षति पुगेको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिका–८ अन्तर्गत पिपलपाटा नजिकै तुथुङ्मा आज बिहान खसेको पहिरोले स्थानीय टोपबहादुर दमाईको घर पुरिएकोहो ।

पहिरोका कारण सोही ठाउँका हर्कबहादुर दमाई, जयबहादुर दमाई र टिके दमाईको घर र गोठसमेत भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनुभयो ।

त्यसैगरी पहिरोका कारण चन्द्रकोट गाउँपालिकाअन्तर्गत उपल्लो तुराङमा सोभाखर सुनार र उहाँकी साहिली बुहारीको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण छ घरपरिवारका २९ जना व्यक्ति विस्थापित भएका छन् ।

वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि गुल्मीको चन्द्रकोट गाउँपालिका–७ खसीमारेमा एउटा मालबाहक ट्रक बगाएको छ ।

सोमबार राति बुटवलबाट हार्डवयरका सामग्री लिएर चन्द्रकोट गाउँपालिकाको शान्तिपुर बजारतर्फ जाँदै गारेको ना ६ ख ७७९२ नम्बरको ट्रकलाई पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *