“तिलस्मी”

शंकरप्रसाद लुइँटेल

शब्द प्रयोग: “तिलस्मी” शब्द आफैँमा रहस्यमयी शब्द हो | तिल एउटा वनस्पति हो | तपाईं हामी सबैलाई थाहा छ | तिलको छोप हालेर बनाएको काँक्राको अचार, करेलाको अचार, इस्कुसको तरकारी इत्यादि ! तिललाई संस्कृत साहित्यमा पनि रहस्य सूचक वनस्पति अर्थात् अर्थका रूपमा प्रयोग गरेको पाइन्छ | तिलको पूजा-आजामा पनि प्रयोग हुन्छ | तिलानी पानीले छम्केर शुद्ध बनाउने चलन छ |

महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कवितामा “तिलस्मी” शब्दको प्रयोग मेरालागि पहिलो अध्ययन थियो | यो शब्दले त्यतिबेलाको मस्तिष्क निक्कै घोचेको थियो | नेपाली गुरुलाई निक्कै हैरान लगाएको सम्झना छ | यो शब्दको अर्थ आधिकारिक रूपमा प्रकासित गर्ने संस्था नेपाल प्रज्ञा प्रतिष्ठान बाट जस्ताको तस्तै: “असम्भव घटना वा अनपत्यार कामकुरा भएको; जादुगरी वा चटकजस्तो”।
कवितामा देवकोटाले भनेका छन् :
“छुन्छ तिलस्मी करले उसले
सेवक हरूको माथ |”

जादु भनेको आँखाको भ्रम हो | चटक हो | तिलस्मी भनेको चटक नभए पनि भ्रम केही हद सम्म हो, पुरै होइन | तिल भित्र रहेको तेल नाङ्गो आँखाले देखिन्न | पेलेर तेल निकाल्न सकिन्छ | एउटा समयमा त्यहीँ भएको कुरो समेत अर्को प्रक्रिया अवलम्बन नगर्दा त्यो गुण उत्पन्न नहुनु “तिलस्मी” हुन्छ | तिलमा भएको तेल पेलेर निकाल्नु | तिल् र अस्मी भएर तिलस्मी बन्छ | तिलमा “अस्मी” रहेको तेल | त्यो नै तिलस्मी हुन्छ | राहुल सांकृत्यायनले पनि तिलस्मी शब्दको प्रयोग गरेका छन् | जब जब यो शब्द देखिन्छ, एक तमासको अलग्गै अनुभूति अनुभव गर्ने गर्दछु म | यो मेरो नित्तान्त व्यक्तिगत अनुभव हो | कुनै शब्दले कसैको अन्त:करणमा प्रभाव पार्दछ, त्यो व्यक्ति अनुसार फरक पर्दछ | तिलस्मी शब्द मेरालागी त्यस्तै शब्द हो |

यहाँ आज चर्चा गर्न खोजिएको “तिलस्मी” भनेको तपाईं-हामी भित्र लुकेर रहेको सुख, खुशी र आनन्दको हो |

समय: संसार सुखमय छ कि दु:खमय छ भन्ने बहस कहिल्यै सकिन्न | यो दृष्टिकोण हो | समय सुदर्शन चक्र हो | चल्छ | रोकिन्न | कसैका लागी एकै पल पनि रोकिन्न | समय बराबर चल्छ | यसको काम नयाँ सजाउने, भएको थोत्र्याउने, थोत्रिएको मार्ने चक्र निरन्तर चलाउनु हो | अंग्रेजी भाषाका कवि थोमस ग्रे ले भने : “आज फूल मुस्कुराउँछ, भोलि मर्छ” | मुस्कान सधैँ रहँदैन | परिवर्तन समयको बिकार अर्थात परिणाम हो | जहाँ समय छ, त्यहाँ परिवर्तन छ | हामी त्यही समय भित्र छौं | त्यो निष्ठूर समय आज हामीलाई शिशु बनाउँछ, बालक, यौवन, युवा अनि बृद्ध ! अब डाँडाको जुन | डुब्न कत्तिबेर पनि लाग्दैन | समय |

माया: भ्रम | यथार्थको भ्रम माया हो | अचम्म छ | यथार्थको पनि कहीं भ्रम हुन्छ ? अब हेर्नुस कैसे ! संसार परिवर्तनशील छ | सबै परिवर्तन हुन्छ | हाम्रा आफन्त छन् | कोहि हामी भन्दा बुढा छन्, कोहि जवान | कोहि मर्नै लागेका होलान् ! को कतिबेला मर्छ भन्ने कसलाई के थाहा ? तपाईं पहिले कि म पहिने ? अगले के हुन्छ कसैलाई थाहा छैन | तर पनि हामी १५/२० बर्ष पछी सेवा निवृत्त (रिटायर) भएर के गर्ने भन्दा भन्दै अहिल्यै “टायर” हुन्छौं | यो यथार्थको भ्रम हो | यो नै माया हो | यक्षले युधिष्ठिरलाई सोधे रे, “तिमीलाई के अचम्म लाग्छ?” भनेर | धर्मराज युधिष्ठिरले जवाफ दिएछन्: “लास पोल्दै छन्, कोहि रुँदै छन् ! पोल्ने र रुने दुबैले सोच्छन: यो मर्यो तर म मर्दिन !” यक्ष प्रसन्न भए रे | हाम्रो पनि त्यै हो | अर्को मर्यो, म मर्दिन | यो नै माया हो | यो नै यथार्थको भ्रम हो | ओशोका भाषामा: “मान्छे ‘वेदान्त’ को चर्चा गर्दा गर्दै ‘वेदन्त’ (दाँत नभएको) हुन्छ र पनि चर्चा सकिन्न !” यो नै यथार्थको भ्रम हो |

संसार: संसारको बनावट नरिवल फल जस्तो छ | फल त छ तर निकाल्न नजान्नेका लागि केहि छैन ! हुँदैन | निकाल्न जान्नेले त्यो बहु-गुणमयी फल भोग गर्दछन | नजान्ने त्यत्तिकै आफल-ताफल गरेर नरिवलको भारी बोकेर थाक्छन | पहिले फल हो भन्ने पत्याउन नै गाह्रो | जटा ताछ्यो, झन् कडा बोक्रो आउँछ | फुटाउन नै गाह्रो | अब फुटाएर मात्रै भएन, त्यहाँ बाट गुदी कोट्याएर निकाल्न गाह्रो | फल भोग्न सजिलो छैन | कला चाहिन्छ | नरिवल | संसार पनि त्यस्तै तिलस्मी छ | रामकृष्ण परमहंसका भाषामा: जे हो त्यो देखिन्न, जो होईन त्यहि देखिन्छ |

तिलस्मी: संसार (नरिवल)का खोष्टा, जटा र कडा काठ समेत फ्याँके पछी रहन्छ शुद्ध नरिवल | यहाँ सम्मको प्रक्रिया तिलस्मी हुन्छ | आफ्नो अलग्गै अस्तित्व स्वीकार्नु नरिवल हो | नरिवल फल भए पनि स्याऊ, अंगुर जस्तो सोझै खान मिल्दैन | होस् पुर्याएर काम गर्नु पर्छ | जतन गरेर निकाल्नु पर्छ | कडा प्रहार, जतन संग ! कस्तो बिचित्रको संयोग हुन्छ यहाँ “जोर से मारो मगर प्यार से” ! हामी तिलस्मी जनावर हौँ | घोडा, गाई जन्मिने बित्तिकै घोडा-गाई नै हुन्छन | मान्छेले मान्छे हुन धेरै कुरा सिक्नु पर्छ | यो नरिवल कै प्रतीक हो | हाम्रा हरेक क्रियाकलाप उद्देश्य लक्षित हुन्छन | उद्देश्य नभएको काम त्यत्ति रोचक हुँदैन | खाना खाँदा समेत “बाँच्ने” उद्देश्य हुन्छ | यो साधारण प्रक्रिया भन्दा केहि बाहिर निस्किएर एकै छिन हेरौं | ज्ञानेन्द्रीयले संधै सहि संदेश दिंदैनन् | आकाश नीलो देखिन्छ, वास्तवमा त्यहाँ नीलो कुनै वस्तु हुँदैन ! समुद्र पनि निलै देखिन्छ | यो भ्रम हो | झुठो संदेश | अमला खाने बित्तिकै पानी पिउँदा गुलीयो स्वाद आउँछ | यो अर्को झुठो संदेश हो | स्पर्स, गन्ध र शब्दको भ्रम त झन् कति हो कति ! अब देखेको/सुनेको कुरो कसरि नपत्याउनु ? यहाँ हामीलाई “नरिवलको जटा”ले मात खुवाउँछ | जटा भित्र फल छैन ! संसार अनुभव हो | हरेक वस्तु अनुकुल र प्रतिकुलको हाम्रो दृष्टिकोणमा निर्भर हुन्छन | तर यो जटा मात्रै हो |

आफूलाई अनुकुल भए सुख, प्रतिकुल भए दुख ! यो नै साधारण मापदण्ड हो सुख/दुखको | यदि धैर्यपूर्वक हेर्यो भने वस्तुमा न सुख छ, न दुख नै | जब सुख र दुखको भेद सकिन्छ अनि एक तमासको खुशी र आनन्द मात्रै बाँकी रहन्छ |

जब निकास छैन भने त्यसलाई हात-पाऊ मारेर जुध्नुको कुनै अर्थ छैन | एउटा उदाहरण हेरौं: काठको टुक्रो पानीमा उत्रनलाई उसले कुनै बल लगाउनु पर्दैन | आफैं उत्रिन्छ | सिकारु मान्छे पौडी खेल्न निक्कै हात-पाऊ मार्नु पर्छ | सिपालु मान्छे न्युनतम प्रयासले पनि पानीमा आनन्दले तैरिन्छ | यो कला हो | यो नै संसार जिउने कला हो | सत्यनारायण गोयन्का (बिपस्याना ध्यान केन्द्रका संस्थापक) का भनाईमा: धर्म जीवन जिउने कला हो, संसार सुखमय बनाउनु नै कला हो |

उपलब्ध बिषयमा आफू खुशी र तृप्त भावले भोग गर्नु भनेकै संसारबाट सुख, खुशी र आनन्द हासिल गर्नु हो | बस्तुमा न सुख छ, न दुख | त्यो त हामी भित्रको अनुभव मात्रै हो | यहि अनुभव निरन्तर मन्थन गरेर नरिवलको जटा-काठ इत्यादि छुट्याएको जस्तो छुट्याएर लाने अभ्यास गर्दा हाम्रो “तिलस्मी” गुण आनन्द आफैं उजागर हुन्छ | खुशी आफैं भईन्छ | बाह्य वस्तुमा न खुशी छ, न सुख छ न त आनन्द नै ! यो आफू भित्रै लुकेको छ | निरन्तरको अभ्यासले यो उजागर हुन्छ | अभ्यास नै यसको साँचो हो, यसैले आफ्नो आनन्द खुल्छ |

अभ्यास: खप्तड बाबाको एउटा अभ्यास सापटी लिएर यो प्रसंग टुंग्याउँछु | एउटा कागजमा ठूलो “T” लेखौं | एकातिर “म” लेखौं | अर्को तिर “मेरो” लेखौं | यो “म” खोज्ने अभ्यास हो | अब हाम्रो शरीर लगायत संसारमा भएका सबै वस्तुबाट “म” निकाल्ने कोसिस गरौँ | मेरो: मेरो हात, मेरो खुट्टो, मेरो नाक, मेरो कपाल, मेरो मुटु, मेरो फोक्सो, मेरो दिमाग, मेरो मन, मेरो बुद्धि, मेरो खेत, मेरो भैंसी ………….. निरन्तर मेरो ! लेख्दै जानुहोस् | मेरो सबै मेरो हुन्छ | तर “म” कहिल्यै फेला पर्दैन |

उपाय: यो हुँदै नभएको “म” को अहङ्कार स्थापित गर्न किन यत्रो लडाईं ? के को माथा फोराई ? यै शरीर एकैछिनमा लड्छ | मर्छ | हुँदै नभएको “म” लाई किन यत्रो प्राथमिकता ? प्रश्न आफैं उत्तर बनेर आउँने छन् | अभ्यास गर्नु होला | यो नै “तिलस्मी” हो | तिलको तेल निकाल्ने प्रक्रिया हो | सुखको खोज हो | आनन्दको अभ्यास हो । अब फेरी भन्नुहोस्:
चुम्दछ इश्वर काम सुनौला
गरिरहेको हात,
छुन्छ तिलस्मी करले उसले
सेवक हरुको माथ !
कुन मन्दिरमा जान्छौ यात्री …..!

अभ्यास गर्नुहोस्, यो तिलस्मी हात पहिल्याउनु होस् र आनन्दित हुनुहोस् भन्ने कामना सहित | धर्मो रक्षति रक्षित: |

Leave a Reply

Your email address will not be published. Required fields are marked *