चार वर्षपछि अलैँचीमा ‘ट्रेडमार्क’

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको ‘ब्राण्ड’ चिनाउन सरकारले जारी गरेको ‘ट्रेडमार्क’ चार वर्षपछि कार्यान्वयनमा आउने भएको छ ।

सरकारले २०७३ साल असार १९ गते जारी गरेको ट्रेडमार्क केही समयअघि पाकिस्तानले स्वीकृत जनाएको छ भने अन्य देशमा प्रक्रियामा छ ।

नेपाली अलैँचीको ‘ट्रेडमार्क’लाई पाकिस्तानले स्वीकृत जनाएपछि नेपालबाट ट्रेडमार्क मार्फत अलैँची पाकिस्तान लैजान सकिने भएको छ ।

निजी क्षेत्रसँगको लामो छलफलपछि सरकारले ‘एभरेस्ट विग कार्डिमम’ नामक ट्रेडमार्क जारी गरेको थियो । ट्रेडमार्क निर्माणका लागि निजी क्षेत्र (अलैँची व्यवसायी संघ) ले २०६७ सालदेखि गृहकार्य शुरु गरेको थियो । विभिन्न समितिमार्फत निर्माण भएको ट्रेडमार्कमा सगरमाथाको चिह्न र अलैँचीको दाना राखिएको छ ।

ट्रेडमार्कमा सगरमाथा राखेपछि नेपालको अलैँची भनेर चिनाउन सहज हुने भएकाले सगरमाथा राखिएको अलैँची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले जानकारी दिनुभयो ।

ट्रेडमार्क कार्यान्वयनपछि अलैँचीमा सुधार गरेर विदेश निर्यात गर्न अलैँचीलाई तीन गुणस्तरमा वर्गीकरण गरिएको छ । सबैभन्दा गुणस्तरीय अलैँचीलाई जेम्बो जेट(जेजे), मध्यम गुणस्तरीय अलैँचीलाई स्टेन्डर क्वालिटी (एसटी) र कम गुणस्तरीय अलैँचीलाई चलनचल्तीको मापन (सीसी)मा वर्गीकरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *