आर्थिक प्रलोभनमा पर्ने ४ प्रहरी निलम्बन

मकवानपुर । बाग्मती प्रदेश प्रहरी कार्यालयले आर्थिक प्रलोभनमा पर्ने चार जना प्रहरीलाई निलम्बन गरेको छ । आर्थिक प्रलोभनमा परी दिइएको जिम्मेवारी इमानदारीताका साथ निर्वाह नगर्ने चार जना प्रहरी कर्मचारीहरूलाई आज निलम्बन गरिएको हो ।

प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट खटिएको विशेष टोलीले सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा उनीहरूलाई गत सोमबार नियन्त्रणमा लिएको थियो । उनीहरूलाई बुधवार निलम्बन गरिएको बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता सुदीप गिरिले जानकारी दिनुभएको छ । निलम्बनमा पर्नेमा प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र चितवनमा कार्यरत ४ जना प्रहरी रहेका छन् ।

सवारी चालकसँग विभिन्न बहानामा रकम लिँदै गरेको अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी प्रकाश जैसी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र कुमार मल्ल, इलाका प्रहरी कार्यालय मनहरिमा कार्यरत प्रहरी जवान अजय महत्तो र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान लक्ष्मण कुमार महत्तोलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । निलम्बित प्रहरी कर्मचारीहरूको सम्बन्धमा थप छानबिन गर्न प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रहरी नायव उपरीक्षक विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको छ ।

आफ्नो ड्युटीमा ईमान्दारीता प्रदर्शन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारबाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बाग्मती प्रदेश प्रहरीले विशेष अभियानको रूपमा सञ्चालन गरेको छ । बाग्मती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूबाट नागरिक केन्द्रित, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट विशेष कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरूबाट सम्पादन भइरहेको कार्यलाई अनुगमन र मूल्याङ्कन गर्न सिनियर प्रहरी अधिकृतको कमान्डमा टाक्स फोर्स समेत गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *