अलैँचीकाे बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर

इलाम-स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो तर, नेपालबाट जाने अलैँचीको भारतीय भन्सार मूल्य मापन चाहिँ सधै एउटै दर कायम हुन्छ ।

अलैँचीको भन्सार मूल्य कुनै बेला नेपाली बजारमा रु एक लाख प्रति मन कोरोबार हुँदा र अहिले सरदर रु २० हजार प्रति मन हुँदा पनि एउटै छ । व्यवसायीका अनुसार अहिले नेपालबाट जाने अलैँचीको मूल्य दर प्रतिकिलो भारु ५०० (रु ८००) को नै बिल भन्सारमा बनाउनुपर्ने बाध्यता छ ।

यही कारण नेपाली बजारमा प्रतिकिलो ५०० रुपैयाँ मात्र अलैँचीको मूल्य हुँदा अतिरिक्त रु ३०० भन्सार मूल्य देखाएर भारत अलैँची पठाउनुपर्ने बाध्यता छ । यो भन्सार मूल्य नेपाली बजारमा किसानको अलैँची किनेको मूल्यको झण्डै दोब्बर मूल्य हो ।

आठ वर्षयता नेपालबाट जाने अलैँचीको भन्सार मूल्य सोहीअनुसार छ । अलैँचीको मूल्य अधिकतम हुँदा यो दरअनुसार भन्सार मूल्य बनाउन गाह्रो छैन तर किसानसँग किनेको मूल्यभन्दा बढी पर्दा समस्या हुने गरेको व्यवसायीको गुनासो छ ।

अहिलेको प्रावधानअनुसार रु चार लाखसम्म नेपाल सरकारलाई कर बुझाउनु नपर्ने प्रावधान छ भने चार लाखभन्दामाथि प्रतिलाखको १० प्रतिशत कर बुझाउनुपर्छ । त्यस्तै रु २० लाख कोराबार गर्दा २० प्रतिशत भन्सार बुझाउनु पर्छ । सोही दरमा नेपाल सरकारलाई व्यवसायीले कर बढाएर तिर्नुपर्ने प्रावधान छ तर भारतीय भन्सारमा बढी मूल्यको अलैँची (८०० प्रतिकिलो) बनाउँदा स्वतः कोरोबार बढी देखिने हुँदा बढी भन्सार तिर्नुपरेको व्यवसायीको भनाइ छ ।

भन्सार मूल्य समायोजन गर्नका लागि व्यवसायीका तर्फबाट नेपाल सरकारलाई पटकपटक ध्यानाकर्षण भएको पनि हो तर सरकारका तर्फबाट ‘ठोस’ पहल नहुँदा बढी मूल्यको भन्सार मूल्य बनाउनुपरेको हो । त्यति मात्र होइन, दुईदेश बीच हुने वाणिज्य सन्धि पनि परिमार्जन हुनुपर्ने हो तर नेपाल र भारतको हकमा भने त्यस्तो पनि हुन सकेको छैन । यही मूल्य समायोजन नभएकै कारण धेरै व्यवसायी अलैँची कारोबार गर्न सक्रिय भएको वरिष्ठ उपाध्यक्ष नेपालको भनाइ छ ।

नेपालबाट भारत जाने अलैँचीलाई मात्र प्रतिकिलो भारु ५०० भन्सार तिर्नुपर्छ तर भारतमै उत्पादित अलैँचीको भने भारु ३०० मात्र तिर्दा पुग्छ । भारतकै सिक्किमबाट पश्चिम बङ्गाल जाने भन्सार मूल्य भारु ३०० मात्रै छ । यसैले भारतीय व्यापारीले नेपालको अलैँची किन्न मान्दैनन । नेपाल र भारतको अलैँचीको भन्सार महसुलमै अत्यन्तै बढी फरक छ ।

नेपालबाट जाने अलैँचीको भन्सार मूल्य बढी हुनुमा चाहिँ भारतले बनावटी समस्या भिराएको व्यवसायी बताउँछन् । नेपालबाट ठूलो परिमाणमा तेस्रो मुलुक जानेमध्ये बङ्गलादेश मुख्य देश हो तर नेपालले बङ्गलादेशसँग अलैँचीसम्बन्धी व्यापार सम्झौता नगर्दा बढी कर तिर्नुपरेको व्यवसायीको गुनासो छ । अहिले बङ्गलादेशमा अलैँची पठाउन भूटानलाई शून्य कर लाग्छ भने नेपालले ३५ प्रतिशत कर तिर्नुपर्छ । यसैले सिधै अलैँची बङ्गलादेश लैजान नसकिने भएकाले भारतमार्फत अलैँची लानुपर्ने बाध्यता छ ।

नेपालमा उत्पादन भएको ९८ प्रतिशत अलैँची बाहिरी देश निर्यात हुने गरेको व्यवसायी बताउँछन् । आर्थिक वर्ष ०७५/७६ मा ५२ लाख ४० हजार ३२९ किलो अलैँची निर्यात भएकामा आव ०७६/७७ मा ५० लाख १२ हजार ६९४ किलोमात्र निर्यात भएको व्यापार तथा तथा निकासी केन्द्रको तथ्याङ्क छ । आव ०७५/७६ मा रु चार अर्ब २८ करोड ४१ लाख ९९ हजारको अलैँची निर्यात भएकामा गत आव ०७६/७७ मा रु चार अर्ब एक करोड ९२ लाख १४ हजारको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *